Saturday, October 24, 2009

राजदूतहरुद्धारा लडाकुहरुसंग समायोजनबारे छलफल

माओवादी लडाकुहरुले राजदूतहरुलाई पहिले अयोग्य लडाकुहरुको व्यवस्थापन हुनुपर्ने बताए
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका राजदूतहरुले शुक्रबार ईलामको चुलाचुलीस्थित माओवादी सेनाको शिविरका लडाकुहरुसंग सेना समायोजनका विषयमा छलफल गरेका छन्।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु चीन, अमेरिका, बेलायत, फ्रान्स र रुसका राजदूतहरु ईलामको चुलाचुली स्थित माओवादी सेनाको प्रथम डिभिजन मुख्यालयमा दिउँसो आइपुगेका थिए।
साथमा राष्ट्रसंघीय निकाय अनमिन प्रमुख करिन ल्याण्डग्रेन र जापानी राजदूत पनि रहेका थिए।
माओवादी सेनाको प्रथम डिभिजन मुख्यालय चुलाचुलीका कमाण्डर यमबहादुर अधिकारी प्रतिक्षाका अनुसार विदेशी कूटनीतिज्ञहरुको टोलीले माओवादी लडाकुसंग सेना समायोजनका विषयमा अन्तर्क्रिया गरेका थिए।
समायोजन
"सेना समायोजनका विषयमा उहाँहरुले सोध्नु भयो। हामीले सेना समायोजन गर्ने प्रक्रियामा अयोग्य लडाकुहरुलाई पहिला व्यवस्थापन गर्नु पर्छ भन्यौं," प्रतिक्षाले भने।
प्रतिक्षाका अनुसार टोलीले सेना समायोजन पछि नेपाली सेनाको संख्या बढने र नेपालले धान्न नसक्ने स्थितिमा के गर्ने भनेर माओवादी लडाकुलाई सोधेको थियो।
"हामीले देशले धान्न नसकेको अवस्थामा समायोजन पछि सेनाको संख्या घटाउन सुझाव दियौं," प्रतिक्षाले बताए।
कूटनीतिज्ञहरुको टोलीले शिविरमा दुई घण्टा बिताएको थियो तर माओवादी सेनासंगको अन्तर्क्रिया चलेका बेला स्थानीय संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो।
शान्ति सम्झौता पुनरावलोकन गर्नुपर्ने अभिव्यक्ति रक्षामन्त्री विद्यादेवी भण्डारीले केही दिन अघि दिएकी थिइन्।
रक्षामन्त्री भण्डारीको अभिव्यक्तिपछि शान्ति प्रक्रिया नै अवरुद्ध हुनसक्ने अशंका भइरहँदा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुका राजदूतहरु लगायत विदेशी कूटनीतिज्ञहरुको टोलीले माओवादी सेनाको शिविर भ्रमण गरेको हो।

No comments:

Post a Comment