Saturday, October 24, 2009

धमलाको मुद्दा फिर्ता भएन

काठमाडौं, २०६६ कार्तिक ७ -

रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलासहित तीन जनामाथिको मुद्दा सरकारले फिर्तार् लिन नमिल्ने काठमाडौं जिल्ला अदालतले आदेश सुनाएको छ । न्यायाधीश शेखर पौडेलको एकल इजलासले एकै मुद्दाका अभियुक्तहरूलाई सरकारले आशिंक रूपमा छोड्न नमिल्ने निर्णय सुनाएको हो । गत पुसमा सरकारले धमलासहित वीरेन्द्र केएम, रामशुभक महतो मनोज महतोलाई ज्यान मार्ने उद्योग तथा अपहरण र हतियार खरखजनासम्बन्धी मुद्दा लगाएको थियो । तीमध्ये मनोज महतोबाहेक अन्यको मुद्दा सरकारले प्रधानमन्त्री माधवकुमार नेपाल अमेरिका जानुअघि गत भदौ ३० गते फिर्ता लिएको थियो । मुद्दा खेपिरहेका ऋषि प्रधानमन्त्रीको टोलीमा अमेरिका गएका थिए । यसअघि सर्वोच्चबाट प्रतिपादित नजिरका आधारमा अदालतले सरकारको निर्णय अनुसार मुद्दा फिर्ताका लागि अनुमति नदिएको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसपी नवराज सिल्वालले अदालतको निर्णयअनुसार मुद्दा प्रक्रिया अघि बढाइने बताए । 'हामीलाई अदालतबाट औपचारिक पत्र आएको छैन,' एसपी सिल्वालले भने, 'पत्र प्राप्त भएपछि उल्लेख भएअनुसार कारबाही अघि बढाउँछौं ।' मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिन गरेको निर्णय अनुमतिका लागि जिल्ला अदालतमा पठाइने व्यवस्था छ ।

No comments:

Post a Comment