Sunday, October 25, 2009

टेम्केडाँडामा पहिलो पर्यटक

25/10/2009 05:27:00गोपाल किराँती
टेम्केडाँडामा किराँत गणतन्त्र भ्यु-टावर निर्माण गरिने निर्णय भएपछि त्यसको निरीक्षणका लागि गत असोज २९ मा त्यसको अवलोकनका लागि गणतन्त्र नेपालका प्रथम अर्थमन्त्री तथा एनेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईसहितको टोली त्यहाँ पुग्यो । किराँत गणतन्त्र टावर निर्माण समितिद्वारा आयोजित गणतन्त्र टावर निर्माणको अर्थ-राजनीतिक विकाससम्बन्धी यस निरीक्षण भ्रमणमा पूर्वउद्योगमन्त्री तथा नेकपा (एमाले) का नेता हेमराज राई र पंक्तिकारको पनि सहभागिता थियो । नेपाली सेनाको हेलिकोप्टर भाडामा लिएर गएको टोली टेम्केडाँडामाथि करिब २५ मिनेट रहेर चौतर्फी फोटो खिचाइ गौरीशंकरदेखि कञ्चनजंघासम्मका हिमशृंखलाहरूको अत्यन्त नजिकबाट दृश्यावलोकन गरियो । यस सिलसिलामा डा. भट्टराईले टेम्केमा गणतन्त्र भ्यु-टावर निर्माणले बाह्य र आन्तरिक दुवै पर्यटनलाई आकषिर्त गर्ने विचार राख्नुभयो ।

भदौ ६ मा माओवादी किराँत राज्य समितिको बैठकले समग्र किराँत प्रदेशको आधुनिक संरचना खडा गर्न चोमोलुङमा पूर्वाधार विकास अभियानलाई अनुमोदन गरेको थियो । सोही बैठकले प्रदेशको राजधानी तायजोङ सहरीकरणका लागि समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको टेम्केडाँडामा भ्यु-टावर निर्माण गर्न किराँत गणतन्त्र टावर निर्माण समिति गठन गर्‍यो । संघीय नेपालमा स्वायत्त प्रदेशहरू घोषणा गर्दा पूर्वाधारको दृष्टिले सबैभन्दा गरिब प्रदेश किराँत राज्य नै हुने प्रस्ट छ । अर्कोतिर, यो पूर्वाधारको अभाव नयाँ वैज्ञानिक योजना निर्माणको युगान्तकारी अवसर पनि हो, भन्ने पनि प्रस्टै छ । अतः सम्पूर्ण अभावका विरुद्ध जनयुद्ध र जनआन्दोलन लडेको ऊर्जाशील माओवादी जनशक्तिले योजना निर्माणको यस अवसरलाई आगामी हजार वर्षको योजनाका रूपमा प्रयोग गर्ने दृढ इच्छाशक्ति अभियानमा मुखरित गरेको छ । यसको प्रारम्भिक अभिव्यक्तिका रूपमा वरिष्ठ इन्जिनियर तेम्बा शेर्पासमेतको अध्ययनका लागि गएको एक टोलीले ३ सेप्टेम्बर २००९ मा टेम्केमाथि टावरको शिलान्यास पनि गर्‍यो । त्यसको लगत्तै निर्माण उपभोक्ता समितिलाई पूर्णता दिँदै डा. भट्टराईको प्रमुख उपस्थितिमा निरीक्षण यात्रा सम्पन्न गरियो ।

नेपाली सेनाका मेजर रवीन्द्र बस्नेत चालक रहेको हेलिकोप्टरले त्यत्रो उचाइमा बढी भारी लान नमिल्ने हुनाले करिब तीन सय लिटर फ्युल दिक्तेल बजारमा ल्यान्ड गरिराखियो । दिक्तेलबाट रूपाकोट, चखेवा भञ्ज्याङ हुँदै मूलडाँडासमेतको निरीक्षण गर्दै टोली अघि बढ्यो । कपासे भञ्ज्याङ, सेल्मे, पान्धारे भएर टेम्केको फोटो खिच्दै हेमराज राईको गाउँ अन्नपूर्णलाई दुई राउन्ड गरियो । छिनामखु, तिम्माको आकाशमाथिबाट मैयुङको फाँट हेर्दै हामी टेम्केतिर फर्कियौँ । डाँडामथि प्रहरी टोली र जनता पनि पुगिसकेका रहेछन्, देखियो तर उचाइ र हावाका कारण हेलिकोप्टर बस्न सकेन । त्यसपछि चालकले दुई-दुईजनाका दरले पुर्‍याउने भनी भोरनागी शिरमा ल्यान्ड गरी डा. भट्टराई र यस पंक्तिकारलाई टेम्केमा पुर्‍यायो । त्यसपछि हेमराज राई र डा. धर्मराज उपाध्यायलाई दोस्रोपटक लिएर आयो । बिहान आठ बजेको समय पनि कति चर्को जाडो रहेछ भनेर कहिल्यै नबिर्सने त्यस अवसरमा प्रहरीको सम्मान तथा दिदीबहिनीले फूलमाला लगाइदिए । पंक्तिकारले टावर शिलान्यास गरिएको स्थान, तायजोङ सहर निर्माणको परिकल्पना र आँखै अगाडि देखिने समग्र भागहरूको संश्लेषण किराँत प्रदेशमाथि बि्रफिङ गरियो । नास्ताका रूपमा पाउरोटी खाँदै गर्दा डा. भट्टराईले 'टेम्केमा प्रथम टुरिस्ट भयौँ' भन्नुभयो ।

टेम्के निरीक्षण सकेर फ्युल भर्न दिक्तेल आयौँ । फ्युल भर्दै गर्दा माओवादी पार्टी कार्यालयमा कार्यकर्ता, पत्रकार र प्रशासकहरूसित थोरै अन्तक्रिर्या भयो । त्यसक्रममा डा. भट्टराईले जनयुद्धको तयारीका क्रममा आफू खोटाङ-भोजपुर आउँदा टेम्के पुगेको, टेम्केमा पुग्दा मगरातको जलजला हिमालको झल्को आएको र यो डाँडा र क्षेत्रमा केही आधुनिक विकास हुन्छ र गर्नैपर्छ भन्ने लागेको बताउनुभयो । सयौँ वर्षदेखि अधिकार र पहिचानको निम्ति विद्रोह गर्दै आएको किराँत प्रदेशले अमेरिकाको लिबर्टी स्ट्याचु, पान्सको आइफिल टावर तथा भारतको इन्डिया गेटजस्तै महत्त्व राख्ने किराँत गणराज्य स्मारकका रूपमा गणतन्त्र टावर निर्माण गर्न लागेकोप्रति शुभकामना गर्दै आफ्नो र सबैको तर्फबाट सहयोग रहने प्रतिबद्धता गर्नुभयो । स्थानीय किराँतीहरूको आदिम सभ्यतास्थल, बुद्धिस्टहरूको दोस्रो लुम्बिनी र हिन्दुहरूको दोस्रो पशुपतिनाथ मानिने हलेसीलाई तीन फन्को घुमेर अकाशबाटै निरीक्षण गर्दै काठमाडौंबाट उडेको चार घन्टामा हाम्रो टोली पुनः काठमाडौं एअरपोर्ट ओर्लियो । आधुनिक नेपालको किरात गणराज्य निर्माण गर्न र किराँत राज्यको भौतिक पूर्वाधार तयार गर्न डा. बाबुराम भट्टराईको यस निरीक्षण यात्राले धेरै ठूलो योगदान गरेको छ ।

(किराँती पूर्व सस्कृतिमन्त्री हुन्)

No comments:

Post a Comment