प्रहरीसेवामा प्रवेश गर्नुअघि या गरेपछि कहिल्यै मैले मेरो जीवनमा यस्तो बलात्कारजस्तो घटना बेहोर्नुपर्ला भन्ने सोचेकी थिइनँ । मेरो नाम सुनीता (नाम परिवर्तन) हो । पाँच वर्ष भयो, नेपाल प्रहरीमा प्रवेश गरेको । बुटवलमा तालिम लिएँ, दुई वर्ष रामनगर वडाप्रहरी कार्यालयमा बसेँ । तीन वर्षअघि अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएँ । दुई/तीनजना महिला प्रहरी थियौँ तर सात-आठ महिनाअघिदेखि म एक्लै थिएँ । अरू सबै सरुवा भएर गइसकेका थिए ।
सबैसँग राम्रै सम्बन्ध थियो, व्यावसायिक सम्बन्ध । सबैले सहयोग गरिरहेकै थिए । त्यस्तो मनमुटाब, रिसइबी केही थिएन । यही वैशाख ४ गते एकजना स्थानीय युवकसँग मैले बिहे गरेँ । अन्तरजातीय बिहे भएकाले घर-परिवारले स्विकारिसकेका थिएनन् । त्यसैले मेरा श्रीमान् र म अछाम जिल्ला प्रहरी कार्यालयभित्र क्वार्टरमै बस्थ्यौँ । जिल्ला प्रहरी कार्यालयले पनि मेरा श्रीमान्लाई जिप्रकाभित्र क्वार्टरमा बस्न सहयोग नै गरेको थियो ।
नवमीको दिन (असोज ११ गते) हो, डिएसपीसाप घरबिदामा हुनुहुन्थ्यो । इन्स्पेक्टरसाप (शारदा चौधरी, जनआन्दोलन (२ का दोषी ठहर) हुनुहुन्थ्यो । ड्युटी सकेर दिउँसो ३ बजे आफ्नो क्वार्टरमा गएँ । सरसफाइ गरे । साँझ ६ बजे खाना पकाएर टेलिभिजन हेर्दै थिएँ, सशस्त्र प्रहरीको कार्यक्रम आइरहेको थियो । असइसाप (दानसिंह भण्डारी) ले बोलाए मलाई । युनिर्फम लगाएँ, अनि असइसापकोमा गएँ । म त्यहाँ पुग्दा अन्य प्रहरी जवानसहित असइसाप रक्सी खाइरहेका थिए । उनीहरू मलाई देख्नेबित्तिकै हाँस्न थाले । मैले केही मतलब गरिनँ । मलाई उनीहरूको हाँसोप्रति त्यति चासो पनि जागेन । नवमीको दिन भएकाले सञ्चार-सामग्रीको पूजा गरिसकिएको रहेछ । ठीक नियत भएको भए त मलाई पूजा गर्ने वेलामै बोलाउनुपर्ने हो । तर, यस्तो गरिएन । यतिवेलासम्म ८ बजिसकेको थियो ।
हवल्दार (करवीर थलाल) ले 'ल तिमी असइसापको कोठामा धूप बालेर आऊ' भन्यो । आदेश मान्नैपर्यो । हवल्दारलाई सलुट हानेँ, धूप जलाउन असइसापको कोठातिर गएँ । त्यहाँ जाँदा सबै गलल्ल हाँसे । हवल्दारले 'खाना खाएर जाऊ' भन्यो । तर, मैले खाना पकाइसकेकाले म जान्छु भनेर हिँड्न खोजेँ । त्यसपछि असइसापलाई मासु पुर्याइदेऊ भन्यो उही हवल्दारले । आदेश मान्नैपर्यो । सलुट ठोकेँ, मासु समातेर असइसापको कोठामा गएँ ।
असइसापको कोठामा एउटा कुर्सी राखिएको थियो । असइसापले बस भने । पहिले त बसिनँ, बस न बस भनेर कर लगाएपछि भनेको मान्नैपर्यो । सलुट हानेर कुर्सीमा बसेँ । मलाई पनि कचौरामा मासु दिएका थिए । म मासु खान थालेँ । मासु खाँदा कता-कता नमीठो लाग्न थाल्यो । असइसाप खाऊ, खाऊ भन्दै थिए । खाँदाखाँदै आँखा बुझिन थाले । अप्ठेरो महसुस हुन थाल्यो । उठ्नै गाह्रो हुन थाल्यो । पानी लिन जान खोज्दा लड्नेजस्तै भएँ । उठ्न गाह्रो भएपछि कुर्सीमै बसेँ । त्यतिवेला सबै त्यही कोठामा आइसकेका थिए । सबै गलल्ल हाँसे ।
यत्तिकैमा, एउटाले मेरो हात समात्यो । मैले त सहयोग गर्न हात समातेको होला भन्ने सोचेकी थिएँ । तर, त्यस्तो रहेनछ । अनि प्रहरी जवान नरभान महतरा आयो । उसले मुख छोप्यो । म कराउन खोजेँ, तर सकिनँ । त्यसपछि उनीहरूले मलाई गालामा टोक्न थाले । असइसाप हाँसिरहे । असइसापले पनि जथाभावी गरे । त्यसपछि हवल्दारहरू करवीर थलाल, वीरेन्द्रबहादुर बम र वीरादत्त बडु, प्रहरीहरू नरभान महतरा र जगदीश पाण्डेयले जथाभावी गरे ।
सबैले जे-जे मन लाग्यो सबै गरे । म बेहोस भएछु ।
१२ असोजको बिहान, निद्रा खुल्दा मुखदेखि खुट्टासम्म घाउ नै घाउ देखेँ । शरीर अत्यन्तै दुखिरहेको थियो । उठ्न खोजेँ, उठ्न सकिनँ । राति ११ बजेको कुरा, तिनीहरूले मेरा श्रीमान्लाई फोन गरेर बोलाएछन् । श्रीमान्ले मलाई कोठामा लगेछन् । उनीहरूले श्रीमान्लाई पनि कुटेछन् । श्रीमान्ले रातिका सबै कुरा बताए । त्यसपछि म बलजफ्ती इन्स्पेक्टरसाप -शारदा चौधरी, जनआन्दोलन—२ को दोषी ठहर) कोमा गएँ । त्यहाँ जाँदा पनि सबै हाँस्न थाले । सबै कुरा इन्स्पेक्टरसापलाई भनेँ । उजुरी दिन खोजेँ, तर कसैले मानेनन् । मलाई उल्टै हकारे । 'प्रहरीको बदनाम हुन्छ, बाहिर पनि यो कुरा भन्यौ भने मारिदिन्छु भने । मारेर आत्महत्या गरेको हो भनिदिन्छौँ भनेर इन्स्पेक्टरसापले हप्काए । रुँदै-रुँदै म आफ्नै कोठामा फर्कें ।
श्रीमान्ले पनि घटनालाई उजुरी गर्न मानेनन् । अञ्चल प्रहरी कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी गर्छु भन्दा श्रीमान्ले पनि सहयोग नगर्दा मेरो मन कुँढियो । 'बदनाम हुन्छ । तिमीले यो कुरा बाहिर ल्यायौ भने म तिमीलाई अस्वीकार गर्छु । हाम्रो परिवारले पनि स्विकार्नेवाला छैन । म यहाँ बस्दिनँ, सीधै भारत जान्छु । त्यतै हराउँछु' भन्न थाले मेरा श्रीमान्ले । त्यसै पनि अन्तरजातीय विवाह भएकाले परिवारले मलाई मेरो श्रीमान्को घर जान दिएको थिएन, बिहेपछि श्रीमान् मसँगै थिए । श्रीमान्का कुरा सुनेपछि एकातर्फ सोचेँ, ठीकै छ, श्रीमान्ले नै यस्तो भन्छन् भने सहेरै बस्छु ।
यता, दिउँसो घरमा फोन गर्न सञ्चारमा जाँदा पनि सबैले मेरो खिल्ली उडाउने क्रम जारी थियो । मैले केही मतलब गरिनँ ।
असोज १३ गतेको कुरा हो । अब त दैनिक कामधाममा जाने विचार गरेकी थिएँ । दिदीलाई फोन गरौँ भनेर सञ्चारमा जाँदै थिएँ, असइसाप र मेजरहवल्दारहरू हाँस्न थाले । गिज्याउँदै भने, 'बल्ल ठीक भो । तेरो सेखी झर्यो । हिजो राति के-के भयो, तँलाई थाहा छ नि ?' सबै हाँस्न थाले । सञ्चारमा गएर दिदीलाई फोन गरेर फर्किंदा पनि त्यही भने । बाटोको दुवैतिर उभिएर हाँस्दै भने, 'बल्ल मजा आयो । अब त आनन्द भयो होला । बेस्सरी दुखिरहेको छ होला । मुखमा पनि घाउ भएछ ।' उनीहरू यस्तै कुरा गरेर टर्चर दिइरहेका थिए । बलात्कारभन्दा पनि उनीहरूको टर्चर सहन साह्रै गाह्रो भो मलाई । मैले केही सोच्नै सकिनँ । कोठामा गएँ । लुगाफाटो पोको पारेर दिपायल हिँडेँ ।
डिआइजीसाप (पार्वती थापामगर) लाई भेटेँ । सबै कुरा बताएँ । क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएँ । उजुरीका लागि डिआइजीसाप थापामागरले सहयोग गर्नुभो । डिआइजीसापसँगै सेती अञ्चल प्रहरी कार्यालय धनगढी आएँ । एसएसपीसाप (ढकबहादुर कार्की) लाई पनि सबै कुरा भनेँ । उहाँले पनि कारबाही गर्छु भन्नुभो, तर उजुरी लिन मान्नुभएन । सबै कुरा मिडियामा आयो । पाँच दिनपछि सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । छानबिन गर्छौं भनेर अछाम लगियो । अछाममै थिएँ । गृहमन्त्रीजी (भीम रावल) आउनुभो । गृहमन्त्रीजीलाई पनि सबै कुरा भनुँला भन्ने सोचेकी थिएँ । उहाँसँग भेट गर्न दिइएन मलाई । उहाँसँग भेट गर्न नदिइए पनि उहाँले त कम्तीमा मसँग कुराकानी गर्नुहोला भन्ने सोचेकी थिएँ, आस गरेकी थिएँ । तर, त्यस्तो भएन । गृहमन्त्री रावलले पनि पनि केही मतलब गर्नुभएन ।
त्यसपछि प्रधानमन्त्रीजी (माधवकुमार नेपाल) लाई त सबै कुरा भनेँ । नेपाली सेनाको ब्यारेकमा उहाँलाई भेटेकी थिएँ । सबै कुरा बेलीविस्तार लगाएँ मैले प्रधानमन्त्री नेपालसँग । प्रधानमन्त्री नेपालले मेरो कुरा सुनेपछि उनीहरूलाई कारबाही गर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म केही भएको छैन । यत्तिका दिन बितिसके, म यसरी नै कहिले धनगढी, कहिले दिपायल र कहिले अछामतिर लुकिछिपी बसिरहेकी छु । दोषीहरू निर्धक्क भएर घुमिरहेका छन् । उल्टै मलाई दोषीहरूले पागल हो भनेर मेरो कुरा काटिरहेका छन् । घटनाका विषयमा मिडियामा आएपछि र मैले उजुरी दिएपछि मेरा श्रीमान्ले पनि मलाई सहयोग गरिरहेका छन् । यसमा डिआइजीसापको पनि सहयोग छ, तर अरू धेरैले दोषीहरूलाई बचाउन खोजेजस्तो लागेको छ मलाई । प्रहरीसेवाभित्रै यस्तो घटनाको सिकार भएकी मैले के-के सोचेकी हुँली, मेरो मनमा कस्ता कुरा खेल्छन् होला, सबै अनुमान लगाउन मात्र सकिने कुरा हुन् । जबसम्म दोषीहरूलाई सख्त कारबाही हुँदैन तबसम्म म राम्ररी निदाउन सक्दिनँ । कतिपय वेला त म अब यस संसारमा बाँचेर काम छैन, यस्तो अन्याय सहनुभन्दा मर्नुपर्छ भन्ने पनि लाग्छ ।
अछाम जिल्ला प्रहरी कार्यालयमा सामूहिक बलात्कृत महिला प्रहरी जवानले नयाँ पत्रिका संवाददाता बच्चु विकसँग गरेको कुराकानीमा आधारित)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment