Friday, October 23, 2009

नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ

नयाँ पत्रिका

महेन्द्रनगर, ५ कात्तिक

भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।

स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।

मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।

दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।

उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।

तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्‍यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'

दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'

के हो सुपरसोनिक ?

लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।

एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।

भारतले पहिलो लडाकु विमान 'हिन्दुस्तान फाइटर' सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।

आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।

No comments:

Post a Comment