Sunday, October 25, 2009

'नेताको दबाबमा अपराधी नछाड्नूस्’

नयाँ पत्रिका

काठमाडौं, ७ कात्तिक

प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दबाबमा अपराधी नछाड्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले अपराधी पक्राउ परेलगत्तै छाड्न राजनीतिक वृत्तबाट दबाब आउने गरेको गुनासो बढेको बताउँदै जस्तोसुकै दबाब आए पनि अपराधीलाई नछाड्न निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै नेपालले भने, 'अब अपराधीको जालो तोड्नैपर्छ । अपराधी पक्राउ परेलगत्तै कारबाही नगर्न राजनीतिक वृत्तबाट दबाब आउने गरेको सुनेको छु, जस्तोसुकै दबाब आए पनि अपराधी नछाड्नोस्, अप्ठ्यारो परे मलाई भन्नूस्, म तपाईंहरूको साथमा छु ।'

भनसुन, आर्थिक लेनदेन र राजनीतिक पहुचका आधारमा दबाब दिए मात्रै प्रहरीमा सरुवा, बढुवा, शान्तिमिसनजस्ता अवसर पाउने विकृति रहेको प्रधानमन्त्री नेपालले स्विकारे । उनले प्रहरी संगठनका विकृति हटाउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

महिला प्रहरीमाथि संगठनभित्रै दुव्र्यवहार हुने गरेको र उनीहरू समकक्षी पुरुष प्रहरीबाट प्रताडित हुने गरेको बताउँदै तत्काल यस्ता दुव्र्यवहार हटाई समान अधिकार र अवसर निर्माण गर्न उनले गृहप्रशासन र प्रहरीका उच्च अधिकारीलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री नेपालले सामाजिक विकृति हटाउन प्रहरी बढी सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री नेपालले सशस्त्र द्वन्द्वका क्रममा घाइते प्रहरी र वीरगति पाएका प्रहरी परिवारको अवस्था अत्यन्त नाजुक रहेकोमा दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार र सुविधाका साथै वीर प्रहरीका परिवारलाई रोजगार, शिक्षा, स्वास्थ्यजस्ता सुविधा प्रदान गर्न तत्काल गृहकार्य सुरु गर्न गृहमन्त्रीलाई निर्देशन दिए ।

No comments:

Post a Comment