Friday, October 30, 2009

मुठभेड त सुरु भइहाल्यो नि :

Filed under: समाचार/विचार — move_salokya @ 1:50 pm
माओवादीले आन्दोलनका कार्यक्रमले मुठभेड निम्तिएला भनेर शंका गर्नु परेन। किनभने मुठभेड त सुरु भइसक्यो। मात्राको कमि न हो। हिजो आन्दोलनका कार्यक्रम घोषणा हुँदै गर्दा नारायणगढमा माओवादी र काँग्रेसका कार्यकर्ताहरुबीच मुठभेड भयो। आजको पत्रपत्रिकामा आएका समाचार अनुसार माओवादी कार्यकर्ताहरुले शेरबहादुर देउवा र गगन थापालाई खोजी खोजी आक्रमणको प्रयास गरे। नेतालाई त केही भएन, केही कार्यकर्ताहरु घाइते भए। देउवाको गाडीको सिसा फुट्यो। गगन थापा एक जना साथीको घरमा लुकेर भित्रबाट ढोका लगाएकाले बचे।
माओवादीले अहिलेसम्म मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई मात्र कालो झण्डा देखाएर विरोध गर्दै आएका थिए। चितवनमा सिंचाइमन्त्री बालकृष्ण खाँडलाई कालो झण्डा देखाउन नपाएर मात्रै देउवा र थापालाई आक्रमणको तारो बनाइएको हैन होला। यो मुठभेड कै नियत देखिन्छ। नत्र किन देउवा ? किन गगन थापा ? अनि त्यसको प्रतिक्रियामा आज ती नेताहरुबाट आएका मुखका बोली पनि मुठभेड निम्त्याउने नै छन्। देउवाले भनेका छन्- काँग्रेस पनि अब प्रतिकारमा उत्रन्छ।
आक्रमणको तारो बनेका सिँचाइ मन्त्री बालकृष्ण खाँणले आज भनेका छन्- अति भयो, अब शान्ति सुरक्षामा सरकार कडाइका साथ प्रस्तुत हुन्छ।
उता, सरकारमा सहभागी नभए पनि सरकारको प्रमुख सहयोगी एमाले नेता केपी ओलीले हिजो कास्कीमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै भनेछन्, माओवादी आइलागे जाइलाग्नुस्। परेको म बेहोर्छु। प्रतिकारबाट हुने क्षतिको जिम्मा म लिन्छु भनेर उनले भनेछन्।
सरकार सहमति नहुने भयो अब बजेट कसरी पास गर्ने भन्ने रणनीतितर्फ लागिसकेको छ।
यता माओवादीहरु आन्दोलन चर्काउन कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेका छन्। अब चार दिनपछि उनीहरुले दिएको अल्टिमेटम सकिँदैछ। त्यसपछि झन् मुठभेड कै स‍ंभावना हो। आजका माओवादी पत्रपत्रिकाहरु हेर्दा त्यस्तै देखिन्छ। जनदिशा दैनिकले हवाई नाकाबन्दीलाई प्रमुख रुपमा उल्लेख गरेको छ। कात्तिक २४ गतेको उपत्यका नाकाबन्दी कार्यक्रममा काठमाडौँ भित्रिने स्थलमार्ग बाहेक हवाई मार्गमा पनि नाकाबन्दी गरिने रे। विमानस्थलमा कुनै पनि हेलिकप्टर, विमान उड्न, अवतरण गर्न नदिने रे।
आजसम्म भएका कुनै पनि आन्दोलनमा हवाई बन्द गरिएको थिएन। ज्ञानेन्द्रले कू गर्दा मात्रै एक पटक राति विमानस्थल बन्द गरिएको थियो। विमानस्थल पक्कै पनि संवेदनशील क्षेत्र हो। त्यहाँ कसरी माओवादी कार्यकर्ताहरु भित्र छिरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुलाई बन्द गराउलान् त ? मुठभेडबिना यो संभव हुन्न।
अझै पनि नेताहरु आ-आफ्नै अडानमा, आफ्नै स्वार्थमा लिप्त रहे भने आउँदा केही दिनहरु नेपालका लागि ज्यादै कठिन हुनेछन्। यसले नेताहरुलाई हैन, हामी नेपालभित्र बस्ने सर्वसाधारणलाई दुःख दिनेछ, हामीलाई पीडा हुनेछ।

No comments:

Post a Comment