Friday, October 30, 2009

सम्पति ‘लुकाएको’मा गगन थापाले माफी मागे

Filed under: समाचार/विचार — Salokya @ 2:51 pm
नियम अनुसार सम्पति विवरण बुझाउनु पर्नेमा नबुझाउनु आफ्नो हेलचक्र्याँइ भएको गगन थापाले स्वीकार गरेका छन्। उनले आज एक विज्ञप्ति निकाल्दै आफ्नो गल्तीप्रति सबैसँग क्षमा मागेका छन्। उनले आफ्नो वक्तव्यमा सम्पत्ति विवरण मात्र होइन, आफ्नो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखिराख्ने बताएका छन्।
यो साता राजधानीबाट निस्कने नागरिक दैनिकले १० जना मन्त्री र गगन थापासहित १५८ जना सभासदहरुले नियम अनुसार सम्पति विवरण नबुझाएको समाचार छापेको थियो। १५७ जना सभासद र १० जना मन्त्रीले भने अहिलेसम्म केही चुँइक्क बोलेका छैनन्। त्यसमा ठूल्ठूला नेताहरु पनि छन् जस्तै काँग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, एमालेका अध्यक्ष झलनाथ खनाल।

गगन थापाको वक्तव्य जस्ताको तस्तै-

नागरिक दैनिकको मिति २०६६।७।१० मा प्रकाशित “१० मन्त्री र १५८ सभासद अटेरी” भन्ने समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ। व्यवस्थापिका-संसद सदस्य लगायत सार्वजनिक पदमा वहाल सबैले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्त भित्रमा आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने नियम, अन्तर्गत मैले पनि व्यवस्थापिका-संसदको सदस्यको हैसियतमा यहि भाद्र मसान्तभित्र मेरो सम्पत्ति विवरण व्यवस्थापिका-संसदको सचिवालयमा बुझाइ सक्न पर्ने थियो। यो विवरण समयमा नबुझाउनु कुनै बदनियत नभई मेरो हेल्च्याङक्राइ हो। तर पनि यत्रो जिम्मेवार पदमा रहेर यस्तो हेल्च्याङक्राइपूर्ण व्यवहार कदापि शोभनीय हुन सक्दैन। म यस्तो हेल्च्याङक्राइका निम्ति सवै सँग क्षमा माग्न चाहन्छु।
नागरिक दैनिकको उक्त समाचार प्रकाशित हुनासाथ मैले मिति २०६६।७।१२ मा मेरो मासिक आय, मेरो व्यवसायिक संलग्नता रहेको बाख्रा पालन र कुरिलो खेती, मसँग रहेको नगद मौज्दात, लगायत सम्पूर्ण विवरण र सगोलमा रहेको सम्पत्तिको उल्लेख गरि आफ्नो सम्पत्तिको पूर्ण विवरण व्यवस्थापिका-संसद सचिवालयमा बुझाई सकेको छु। जनताको प्रतिनिधिको रुपमा क्रियाशिल हुनेहरुको जीवन कितावको खुला पाना जस्तो हुनुपर्दछ भन्ने मेरो मान्यता हो।
अतः मेरो सम्पत्ति विवरण मात्र होइन, मेरो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखि राख्ने कुरामा म पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, यो विवरण लगायत अन्य कुनै पनि विषयमा कसैलाई पनि मेरो जानकारी दिन खुला रहेको पनि अवगत गराउन चाहन्छु।

गगन थापा
संविधानसभा सदस्य

No comments:

Post a Comment