केशब देवकोटाकाठमाडौं
PrintDateTime(9, 9);
सेप्टेम्बर, ९
नेपाल विशाल देशहरु चीन र भारतका वीचमा दुई ढुंगाको तरुलका रुपमा रहेको छ । पछिल्ला दिनमा कतिपयले यसलाई दुई ढुंगाका वीचको डाइनामाइटका रुपमा पनि चित्रण गर्ने प्रयास गरे । वास्तवमा समय सन्दर्भमा दुवै भनाईहरु सही देखिंदै आएका छन् । नेपाल राम्रो अर्थमा तरुल पनि वन्न सक्तछ भने नकारात्मक अर्थमा डाइनामा पनि वन्न सक्तछ ।
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ । चीन र भारत वीचका सम्वन्ध समेत यसै अनुरुप विकसित भैरहेका छन् । भारतले क्षेत्रीय प्रभुत्व जमाउनका लागि कथित शक्तिराष्ट्र अमेरिकाको सहयोग लिएको छ । यतिवेला भारत दक्षिण एशियाका लागि अमेरिकाको प्रतिनिधि देशझै देखिन्छ ।
चरित्रगत हिसावले पनि विस्तारवादी मुलुक भारत साम्राज्यवादी मुलुक अमेरिकाको प्रतिनिधि हुनसक्छ । त्यसैले होला अमेरिका र भारतले एकापसमा आणविक सन्धी गर्नुका साथै सैनिक संझौता समेत गरेका छन् । कुनैदिन महाशक्ति राष्ट्र सोभियत संघको पक्षमा रहेको भारत सोभियत संघको पतनपछि अमेरिका निकट पुगेको हुनाले उसलाई अन्तराष्ट्रिय सम्वन्धहरुमा सन्तुलन ल्याउन अझै कठिनाई परेको हुनसक्छ । क्षेत्रीय महाशक्ति वन्ने होडमा लागेको भारतले छिमेकी नेपाल, पाकिस्तान, वंगलादेश र म्यानमार लगायतमा आर्थिक, राजनीतिक र सांस्कृतिक थिचोमिचो वढाएको छ । हिन्दीलाई क्षेत्रीय सम्पर्क भाषा वनाउने, भारतलाई नै क्षेत्रीय वजार वनाउने, विद्युत केन्द्र वनाउने जस्ता भारतीय शासकहरुका सपनाले गर्दा नेपाल जस्ता साना र कमजोर मुलुकहरुले अनेक थिचोमिचोको अनुभव गर्नु परिरहेको छ । भारतले भुटानमा नव उपनिवेश नै कायम गरेको छ भन्दा हुन्छ भने सिक्किमलाई आफ्नै देशमा विलय गराएको छ र नेपाललाई पनि सिक्किम वनाउने प्रयास गरिरहेको छ । त्यति मात्र नभएर भारतीय हस्तक्षेप श्रीलंका र माल्दिभ्ससम्म नै विस्तार भएको छ । चीनले पाकिस्तान, म्यानमार, नेपाल र श्रीलंकासँग सम्वन्ध सुधार गरेको र भारतको ती राष्ट्रसँग सम्वन्ध विग्रदै गएकाले कतिपय प्रशंगमा चीन र भारत नै आपसका टकरावको स्थितिमा पुग्ने गरेका छन् । कतिपयले त सन् २०१२ सम्ममा चीन र भारतवीच युद्ध समेत हुनसक्ने आंकलन गरेको पाइन्छ ।
त्यसैले होला भारतले अमेरिकाको आड लिएर चीनलाई घेरावन्दी गरिरहेको छ भने चीनले भारतका छिमेकी मुलुकसँग मिलेर भारतलाई घेरावन्दी गर्न खोजिरहेको छ । यसै अनुरुप चीनले म्यानमारसँग ग्यास संझौता, पाकिस्तानसँग आर्थिक, श्रीलंकासँगसामरिक सम्वन्ध वढाउदै लगिरहेको छ । नेपालको राष्ट्रिय अखण्डतामा कुनै आँच आउने भएमा चीन चुप लागेर नवस्ने जुन अभिब्यक्तिहरु सार्वजनिक भएका छन् ती भारत विरुद्ध लक्षित रहेको सहजै वुझ्न सकिन्छ । भारत र अमेरिकाले नेपाली भूमि प्रयोग गरेर पटक पटक चीन विरोधी गतिविधि गर्ने प्रयास गरेकाले पनि नेपालका राजनीतिक घटनाक्रमकावारेमा चिनियाँ चासोहरु वढ्दै गएको हुन सक्छ । चीनले नेपालले भारतसँग गरेका शान्ति र मैत्री तथा सुपुर्दगी लगायतका विभिन्न सन्धिहरु आफूसँग पनि गर्न माग गर्न थालेको छ । अथवा भनौ चीन नेपालसँग भारतका सन्दर्भमा समदुरीको सम्वन्ध कायम भएको देख्न चाहन्छ । चीनले ज-जससँग सम्वन्धसुधार गरिरहेको छ भारतको ती मुलुकसँग सम्वन्ध सुधार हुन सकेको छैन । भारतको प्रायः सवै छिमेकी मुलुकसँग सीमा विवाद रहेको छ । नेपाल र भुटान वाहेकका अन्य मुलुकले भारतसँगको सीमालाई ब्यवस्थित गर्दै लगेका छन् । नेपालले चीन र भारतसँग असंलग्न सिद्धान्तका आधारमा समदुरी कायम गर्नु पर्नेमा पहिलेदेखि नै त्यो हुन सकिरहेको छैन ।
पहिले व्रिटिश इन्डियाका पालामा राणा, ००७ सालको राजनीतिक परिवर्तनपछि राजा, ०४६ को राजनीतिक परिवर्तनपछि नेकां र एमाले लगायतले भारतलाई सुरक्षा छाता मान्ने गरेकाले पनि नेपालले दुई छिमेकी मुलुकसँग समदुरीको सम्वन्ध राख्न नसकेको हो । ०६३ वैशाख ११ को राजनीतिक परिवर्तनपछि भारतले केही मधेशवादी दलमार्फत नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्न थालेपछि चीनले पनि नेपालप्रतिको चासोलाई तीव्र पारेको अनुभव गरिंदै छ । वेलावखत नेपाल आएका चिनियाँ अधिकारीहरुले नेपाली भूमि चीन विरुद्ध प्रयोग नहोस भन्ने माग गरेको पाइन्छ । मुख्यरुपले वेलायत र अमेरिकाले परिचालन गरेका तथा भारतमा आश्रति दलाई लामाका समर्थकहरुको नेपालमा चलखेल वढेपछि चीन चिन्तित हुन थालेको हो । यसले पनि नेपालले अव चीन र भारतवीच समदुरीको सम्वन्ध कायम गर्नुको अर्को विकल्प देखिएको छैन ।
छिमेकी दुई मुलकवीच असन्तुलित सम्वन्ध कायम भएमा नेपालले अकल्पनीय राजनीतिक दुर्घटनाको सामना गर्नु पर्ने संकेतहरु देखिन थालेका छन् । वन्द, ब्यापार र आवत, जावत लगायतका सवै पक्षमा नेपालले दुई देशवीच समान ब्यवहार गर्नु पर्ने हुन्छ । भारतलाई मात्र विशेष सुविधा उपलब्ध गराउनु नेपालका लागि श्रेयस्कर हुदैन । अन्तराष्ट्रिय सम्वन्धमा जे जस्तो परिवर्तन आए पनि नेपाल-भारत-र चीनको भौगोलिक सीमामा परिवर्तन आउन सक्तैन । तीनवटै देश एक अर्काका छिमेकी भएर रहनै पर्दछ । यससँगै आर्थिक, सामाजिक र सांस्कृतिक सम्वन्धहरु पनि कायम नै रहन्छन् । भारत र चीनमा पृथक राजनीतिक ब्यवस्था भए पनि नेपालले असंलग्नताको सिद्धान्तका आधारमा आफूलाई सन्तुलन गर्नु पर्ने हुन्छ । यसै कारण नेपालले चीन र भारतसँगको सम्वन्धमा समय सान्दर्भिक सन्तुलन कायम गर्नै पर्ने हुन्छ । नेपाल चीन र भारतको तुलनामा सानो र आर्थिक रुपले पछि परेको मुलुक हो तर चीन र भारतवीचको सम्वन्ध सन्तुलनका हिसावले अर्थात सामरिक हिसावले नेपाल निकै महत्वपूर्ण ठाउँमा रहेको छ । नेपालले आफ्नो यो सामरिक महत्वलाई समयमै वुझेर त्यसै अनुसार काम गर्नु पर्दछ ।
पछिल्ला दिनमा देखिएको चीन र भारतवीचको वढ्दो तीक्ततालाई ध्यानमा राखेर अव नेपालले चिनियाँ सीमामा जस्तै भारतसँगको सीमामा पनि सतर्कता अपनाउनु पर्ने वेला आएको छ । भारतीय वाटो भएर भित्रने आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नका लागि पनि भारतसँगको सीमा सिल गरी आवत जावतमा राहदानी प्रणालीको प्रवन्ध गर्नु पर्दछ । किनभने तेश्रो मुलुकवाट हातहतियार, लागु औषधी र नक्कली नोट र यस्तै अन्य आपराधिक गतिविधिहरु भारत हुदै नेपाल भित्रिएर चीनको सीमासम्म पुगिरहेका छन् । यसले गर्दा नेपाल र चीन सम्वन्धमा वेला वखत दरार पैदा हुने गरेको छ भने भारतसँगको सम्वन्ध पनि अपेक्षित मात्रामा सुमधुर हुन सकिरहेको छैन । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाएर अमेरिका र वेलायत लगायतका मुलुकहरु नेपाली भूमिवाट चीनलाई घेरावन्दी गर्न अग्रसर भएको देखिन्छ । चीन र अमेरिकाको महाशक्ति वन्ने वा भारतको क्षेत्रीय शक्ति वन्ने होडसँग नेपालको कुनै सम्वन्ध छैन । त्यसमा उनीहरुलाई वाधा गर्नु पर्ने अथवा सहयोग गर्नु पर्ने कुनै आवश्यक्ता पनि छैन ।
त्यसैले नेपाली भूमि नेपालीको हितका लागि मात्र प्रयोग हुने तर अन्य मुलुकका लागि कुनै हालतमा प्रयोग हुन नदिने प्रवन्ध गरिनै पर्दछ । नेपालका केही दलाल प्रवृतिका राजनीतिक शक्ति र समूहहरु भारतसँग विशेष सम्वन्ध र चीनसँग तेश्रो मुलुकसँगको जस्तो सम्वन्ध राख्नु पर्ने कुरा गरिरहेका छन् । त्यसो भयो भने नेपाल कुनै पनि दिन साँडेको जुधाई वाञ्चाको मिचाईमा पर्न सक्ने अवस्था छ । पञ्चशील र असंलग्नताको सिद्धान्त मान्ने एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले छिमेकीसँगको सम्वन्धमा असन्तुलित र पक्षपातपूर्ण ब्यवहार अपनाउनु हुदैन । अझ नेपालको अहिलेको जस्तो संक्रमणकालीन तरल अवस्थामा नेपालले छिमेकीहरुसँगको सम्वन्धमा सन्तुलन कायम गर्नै पर्ने हुन्छ । त्यसप्रति वर्तमान सरकारले आम सहमति कायम गर्न प्रयत्न गर्नु आजको प्रमुख आवश्यक्ता भएको छ ।
Sunday, October 18, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment